आइफा गर्न सरकारले पैसा दिने भनेको छैन, पत्रकारले समाचार लेख्न जानेनन् : मन्त्री बास्कोटा

काठमाडौं । अहिले नेपालमा भारतीय कलाकारका लागि आयोजना हुने कार्यक्रममा सरकारले गर्ने खर्चबारे चर्चा भइरहेको छ । यसलाई लिएर अहिले विरोध पनि भइरहेको छ । सरकारले अहिले प्रष्ट पारेको छ कि आइफाको कार्यक्रममा नेपाल सरकारले आर्थिक सहयोग गरिरहेको छैन ।

यस विषयमा सरकारको आधिकारिक धारणा राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको स्पष्ट पार्नुभएको छ । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्नुभयो ।

उहाँले अगाडी भन्नुभयो, ‘यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक छ ।’ उहाँले आइफा नेपालमा गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी पनि गर्नुभयो । सञ्चारकर्मी र सञ्चारकर्मीको कडा आलोचना गर्दै उहाँले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो । पत्रकारको समाचार लेख्ने ढंग छैन ।’ उहाँले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिनु भएको छ । यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गर्नुभयो ।

© Copyright by The News Nepal
Designed By Appharu