नेताहरु खाडीमा पानी बेच्ने कुरा गर्छन, नेपाल आफैं विदेशबाट करोडौंको पानी आयात गर्छ

काठमाडौं । नेपाल आफुलाई जलश्रोतमा विश्वको दोस्रो धनी देश भएको बताउँदै आएको छ । नेपाल आफुलाई यस कुरामा गर्व पनी लागेको बताउँछ । विभिन्न समयमा नेता मन्त्रीहरुले ठुला ठुला सपना बाड्ने गर्छन । अहिले पनी सरकार खाडी मुलुकहरुमा मिनरलयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ । तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ भन्दा धेरैलाई अच्चम लाग्न सक्छ ।

तर अच्चम पार्नुपर्ने कुरा केही पनी छैन । भन्सार विभागका अनुसार नेपालमा संयुक्त अबर इमिरेट्स (यूएई) बाट मात्र विगत ४ आर्थिक वर्ष (२०७२ देखि २०७६) मा २८ लाख ४७ हजार रुपैयाँको खानेपानी आयात भएको छ ।यो त एउटा देशको कुरा भयो । पानीकै लागि नेपालले बर्षमा करोडौं खर्च गर्ने गरेको खुल्न आएको छ । यूएईबाहेक भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, अस्ट्रेलिया, क्यानडा लगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात हुने गरेको छ ।

उक्त अवधिमा ती देशबाट ७ करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ । सबैभन्दा बढी खानेपानी भारतबाट आयात हुने गर्छ । उक्त अवधिमा भारतबाट मात्रै ३ करोड ९६ लाख ४७ रुपैयाँको खानेपानी आयात भएको देखिन्छ ।

नेपालमा विदेशबाट मिनरलयुक्त, हिउँबाट प्रशोधित र चिनी मिसाइएको गरी ती प्रकारको पानी आयात हुने गर्छ । यूएईबाट दुई प्रकारको (हिउँबाट प्रशोधितबाहेक) र भारतबाटतीनै प्रकारको तथा अन्य मुलुकबाट सामान्यतः मिनरलयुक्त र चिनी मिसाइएको पानी आयात हुने गरेको तथ्यांकले देखाउँछ । यो तथ्याङ्क र नेताहरुले दिने भाषणलाई तुलना गर्ने हो भने विश्वको दोस्रो धनी देश भएकोमा गौरव होईन लाज मान्नुपर्ने अवस्था आएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu