लज्जित बनाउने प्रियंकाको रेड कार्पेट ठट्टा

यो हप्ता नेपालका मिडिया कान्सका समाचारले तरंगित बने। यसमा दुइटा समाचार थिए, एउटा अभिनेत्री प्रियंका कार्की कान्सको रेड कार्पेटमा हिँड्ने। र, अर्को कान्सकै एउटा इभेन्टमा निर्देशक मीन भामले ६६ लाख नेपाली रुपैयाँ बराबरको नर्वेजियन ग्रान्ट सरफन्ड जितेको खबर।प्रियंका कार्की कान्स जाने खबर अचानक डढेलोझैँ फैलियो। सुरुमा केही अनलाइनमा फाट्टफुट्ट आएको समाचार मे १८ देखि जोडतोडले आउन थाल्यो। समाचारलाई पुष्टि गर्ने ‘कोट’बिनाका यस्ता समाचार नेपालका ९० प्रतिशत मनोरञ्जन अनलाइनमा छिनछिनमा आउँछन्। त्यसैले धेरैले पहिला प्रियंकाको यो समाचारलाई यस्तै ठाने, तथ्यहीन ! तर, पछि इन्स्टाग्राममा प्रियंकालाई शुभकामनासहित रविना देशराज श्रेष्ठको पोस्ट आयो।

प्रियंकाकी हुनेवाला सासुले नै शुभकामना दिएपछि खबरको सत्यतामा शंका रहेन। भोलिपल्ट प्रियंकालाई नै ‘कोट’ गरेका थुप्रै समाचार आए, जहाँ उनले आफू नेपाललाई प्रतिनिधित्व गरेर जान लागेकी बताएकी थिइन्। ती समाचारमा प्रियंका स्वयंले मे २० मा आफू रेड कार्पेटमा हिँड्ने दाबी गरेकी थिइन्। प्रियंका व्यस्त रहने सामाजिक सञ्जालमा पनि उनको दाबी यस्तै थियो।मे २० को साँझदेखि धेरै सञ्चारकर्मीका मोबाइल इन्स्टाग्रामको रिफ्रेस बटनमा थिए। सबै जना प्रियंकाको फोटो सबैभन्दा पहिला हालेर प्रियंकाको ‘कान्स रेड कार्पेट डेब्यू’ हेर्न लालायित थिए। तर, पाँच दिन कुर्दा पनि त्यो फोटो आएन। प्रियंकाका बग्रेल्ती फोटो आए तर दुनियाँले थाहा पाएको रेड कार्पेटभन्दा बिल्कुलै भिन्न।

रेड कार्पेट मतलब सेलिब्रिटी पछ्याइरहेका हजारौँ क्यामरा र तिनै क्यामराबाट बिजुलीझैँ चम्कने फ्ल्यास अनि तिनै फ्ल्यासका बीचमा हावामा हात हल्लाउँदै हिँड्ने सेलिब्रिटी। तर, प्रियंकाको रेड कार्पेट होटलको कोठा र लबीभन्दा बाहिर आएन। कुनै पनि यस्ता फोटो थिएनन्, जहाँबाट कान्सको माहोल देखियोस्।यता नेपालका मिडिया भने रेड कार्पेटका नाममा प्रियंकाले यतैतिर खिचेका फोटो हालेर दंग परे। होटलको झ्यालमा खिचेका फोटो त कहिले लबीमा खिचेका फोटोलाई रेड कार्पेटको फोटो भनेर हाल्न केही मनोरञ्जन पोर्टलबीच प्रतिस्पर्धा नै थियो। प्रियंकाले कान्स जानुअघि आफूलाई कान्स फेस्टिभलले नै बोलाएको र देशलाई प्रतिनिधित्व गरेर जान लागेको बताएकी थिइन्। कान्स जाने आफू पहिलो सेलिब्रिटी भएको पनि उनको दाबी थियो।

त्यसमा रेड कार्पेटमा हिँड्ने गफ पनि सामेल थियो। त्यसैले जब प्रियंका कान्स पुगिन्, उनलाई आफ्नै गफ भारी परेको महसुस गर्न सकिन्थ्यो। हरेक फोटोमा कान्स लेखेर प्रियंका आफू कान्स गएको प्रमाणित गर्न आतुर थिइन्। हरेक फोटोमा कान्स लेखेको देखेपछि धेरैले उनको इन्स्टाग्रामको फोटोमा टिप्पणी गरे, ‘कत्ति कान्स लेखेको ? हामीलाई थाहा छ त तपाईं कान्स गएको हो भनेर ? हरेक चोटि भनिरहनुपर्छ ?’तर, फोटोको विवाद यति मात्र थिएन, उनले कान्सका लागि भनेर जेजति लुगा लगाइन्, अधिकांशलाई नक्कलको आरोप लाग्यो। उनले कान्स पुगेपछि टाउकोमा टावेल बेरेर खिचेको पहिलो फोटो प्रियंका चोपडाको फोटोको फोटोकपी थियो भने सिसाभित्र खिचेको फोटो पनि उनकै नक्कल थियो। पछि लगाएको चेक सुट दीपिका पादुकोणको नक्कल निस्कियो। त्यसपछि लगाएको गाउन भने नेपालकै अभिनेत्री नम्रता श्रेष्ठले कुनै फिल्मको प्रिमियरमा लगाइसकेकी थिइन्। प्रियंका कान्सको रेड कार्पेट हिँड्ने गफमा मात्र फ्लप भइनन्, ड्रेस डिजाइनमा पनि फ्लप भइन्। इन्स्टामै उनले भरपूर गाली भेटिन्।

जानकारहरू भन्छन्, ‘कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउनु सजिलो कुरा होइन। बलिउड अभिनेत्री हिँडे भनेर नेपालका अभिनेत्री पनि त्यो मौका पाउँछन् भन्ने होइन।’ यो पालि कान्समा बलिउडका थुप्रै अभिनेत्री रेड कार्पेटमा देखिए। प्रियंका चोपडा, ऐश्वर्या राय, सोनम कपुर, दीपिका पादुकोण, कंगना रनोट, हुमा कुरेसी, मल्लिका शेरावत यो सालको रेड कार्पेटमा देखिए। तर, उनीहरू हाम्रोमा प्रियंका कार्कीले दाबी गरेजस्तो भारतलाई प्रतिनिधित्व गरेर गएका होइनन्।

ब्रान्डसँगको साइनोका कारण त्यहाँ पुगेका हुन्। जस्तो कि ऐश्वर्या, सोनम, दीपिकाले ब्युटी प्रोडक्ट लोरियलका ब्रान्ड एम्बेस्डर भएका कारण रेड कार्पेटमा हिँड्ने मौका पाएका हुन्। त्यसै गरी, कंगना र हुमा कुरेसी ग्रे गुज नामक प्रोडक्टका प्रवद्र्धक भएकाले उनीहरूले कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाएका हुन्। लोरियल लामो समयदेखि कान्सको मुख्य प्रायोजक रहँदै आएको छ भने ग्रे गुज सहायक प्रायोजक हो। मल्लिका भने एउटा सेक्स ट्राफिकिङविरुद्ध काम गर्ने आईएनजीओका कारण त्यहाँ पुगेकी हुन्।

तर, प्रियंका कार्कीले रेड कार्पेटमा हिँड्ने कुरालाई कति सजिलै लिइन्, उनका अन्तर्वार्ता हेर्दा थाहा हुन्छ। अझ त्यसमाथि राष्ट्रलाई प्रतिनिधित्व गरेर जान लागेको गफ त छँदै छ।रेड कार्पेटमा जान पाउने निश्चित प्रावधानमध्ये फिल्मको स्क्रिनिङ एक हो। यदि कुनै फिल्म कान्समा छानिएको छ भने फोटो कलका लागि रेड कार्पेटमा केही समय फोटो खिचाउन पाइन्छ। प्रियंकाको न फिल्म छानिएको थियो, न कुनै ब्युटी ब्रान्डकी सदस्य थिइन्। यस्तोमा उनले रेड कार्पेटमा हिँड्ने गफ दिनु अज्ञानता थियो। यसको मर्म न उनले बुझिन्, न उनलाई शुभकामना दिने भीडले। केही अनलाइन त अझ पनि ‘रेड कार्पेटमा यस्ती देखिइन् प्रियंका’ भनेर अनकन्टार ठाउँमा खिचेका फोटो हालेको हालै छन्। उनीहरूले बुझ्ने कुरै भएन।

फेस्टिभल सर्किटमा घुमिरहने केही फिल्ममेकर प्रियंका कल्चरल एक्सचेन्ज प्रोग्रामअन्तर्गत कान्स पुगेको हुन सक्ने अनुमान गर्छन्। हरेक देशले यस्तो प्रोग्रामका लागि कोटा छुट्याइदिएका हुन्छन्। उनीहरूका अनुसार नेपालमा पनि त्यो कोटा थियो। पहिलो पल्ट प्रियंकाले पहल गरेपछि फ्रेन्च एम्बेसीले उनलाई त्यहाँ पठाउन सहजीकरण गर्‍यो। उनले लेखेको एउटा स्ट्याटसले पनि यही अनुमानलाई बल पुर्‍याउँछ। प्रियंकाले लेखेको स्ट्याटसमा उनले नेपालका केही हाई प्रोफाइल व्यक्तिसँगै फ्रेन्च एम्बेसीलाई धन्यवाद दिएकी छिन्।

देश छाड्दै गर्दा प्रियंकाले एयरपोर्टमा केही युट्युब च्यानललाई गर्वसाथ आफू कान्समा गएर नेपाललाई चिनाउने दाबी पनि गरेकी थिइन्। सँगै, उनको अर्को दाबी पनि थियो, ‘म नेपालबाट कान्स जाने पहिलो मान्छे हो।’प्रियंकाभन्दा पहिला त्यहाँ थुप्रै नेपालीले सहभागिता जनाइसकेका छन्। गत साल मात्र अञ्जली लामाले नेपालको पहिलो ट्रान्सजेन्डर मोडलका रूपमा फेसन सोमा सहभागिता जनाएकी थिइन्। यही साल पनि मीन भाम र फिडेल देवकोटा कान्समै थिए। मीनको स्क्रिप्ट ‘चिसो वर्ष’ले कान्समै चलिरहेको एउटा इभेन्टबाट ६० हजार डलर जितेको थियो भने फिडेलको फिल्म ‘काङलिङ’ सिने फाउन्डेसनको एटलियरमा उत्कृष्ट १५ भित्र पर्न सफल भएको छ।

उत्कृष्ट १५ भित्र अटाउने फिल्मले फिल्म निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माता पाउने सम्भावना हुन्छ। सहनिर्माता, वितरक आदि भेटिन्छन्। फिल्म फेस्टिभलमा नेपाली फिल्मले सहभागिता जनाउँदा वा पुरस्कार जित्दा देशको प्रतिनिधित्व हुन्छ। प्रियंका जत्तिको हिरोइनले यति त बुझ्नुपर्ने हो, बलिउड हिरोइनका नक्कल गरिएका लुगा लगाएर र कान्सको कुना च्यापेर फोटो खिचेर देशको प्रतिनिधित्व हुुँदैन। प्रियंका गइन्, यसमा कुनै आपत्ति होइन। जे–जे गरिन्, त्यसमा पनि भन्नुपर्ने कुरा केही थिएन। तर, कान्सको चार वटा साइड लाइन इभेन्टमा सहभागी हुने कुरालाई देशको गौरवसँग जोड्न कुनै जरुरी थिएन। सुझ न बुझ रेड कार्पेटमा हिँड्छु भन्न पनि जरुरी थिएन। कमसे कम प्रियंकासँगको अपेक्षा यत्ति हो।

कान्स सकिँदै गर्दा फेसबुकमा प्रियंकाको एउटा अन्तर्वार्ता आएको छ, कुनै फ्रान्सेली पत्रकारले लिएको। यो अन्तर्वार्ताले कान्समा उनको उपस्थितिमा थप प्रश्न उठ्छ। अन्तर्वार्ता लिने पत्रकारलाई न प्रियंकाको बारेमा थाहा छ, न प्रश्न ठीकसँग सोधेको छ। अनि, अन्तर्वार्ता पनि यस्तो ठाउँमा छ जहाँबाट मानिस ओहोरदोहोर गरिरहेका छन्। न प्रस्तोताले फलानो कार्यक्रमका लागि प्रश्न सोधेको भन्छ, न दायाँबायाँ केही देखिन्छ। त्यसमाथि पत्रकारको अंग्रेजी। समग्रमा अन्तर्वार्ता पूरै ‘स्क्रिप्टेड’ देखिन्छ। आशा गरौँ, प्रियंकाले यो आशंका गलत साबित गरून्। नत्र भने, प्रियंकाले कान्सको गफ दिएर आफ्नो इज्जत घटाइसकेकी छिन्। यदि यो अन्तर्वार्ता पनि नक्कली पर्‍यो भने प्रियंकाको कान्स यात्रा गर्व होइन, लज्जामा परिणत हुन्छ। अनि, उनको रेड कार्पेट ठट्टाले देशै लज्जित हुने अवस्था आउनेछ।

 

सम्पुर्ण बाट साभार

© Copyright by The News Nepal
Designed By Appharu