एम्बाप्पे भन्छन्- ‘यस वर्ष त्यो महान सम्मानको हकदार मेस्सी मात्र छन्’, उनी नम्बर एक हुन् ’

काठमाडौं, ७ जेठ । युरोपियन गोल्डेन बुट विजेताको छिनोफानो हुन अब एक खेल मात्र बाँकी छ । फ्रान्सको लिग वनमा आगामी शनिबार हुने पिएसजी र स्टेड रेम्सको खेलसँग यो सिजनको गोल्डेन बुट विजेताको छिनोफानो हुनेछ ।

गोल्डेन बुट दौडमा लियोनेल मेस्सी सबैभन्दा अगाडि छन् । उनीभन्दा ४ गोल पछाडि रहेर उनलाई पिएसजीका स्टार केलियन एम्बाप्पेले पच्छ्याइरहेका छन् ।एम्बाप्पेलाई अहिले मेस्सीको कडा प्रतिस्पर्धी मानिएका बेला एम्बाप्पेले भने फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओरको हकदार भने लियोेल मेस्सी नै भएको बताएका छन् ।

मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै बार्सिलोनालाई बाहिरिनबाट बचाउन नसकेपछि उनी बालोन डि’ओरको हकदार नरहेको केही टिप्पणीकारले तर्क गरेका थिए । यद्यपि एम्बाप्पे भने यस्तो मान्दैनन् । एम्बाप्पेको नजरमा यो प्रतिष्ठित अवार्डको लागि यो सिजन मेस्सीजत्तिको योग्य व्यक्ति अरु कोही छैन ।मेस्सी यस वर्ष ला लिगामा उच्च स्कोररसँगै बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् । ला लिगामा ३६ गोल गरेका उनी गोल्डेन बुटका लागि शीर्ष स्थानमा छन् ।

लिग वनको अवार्ड लिने क्रममा उनीसँग यस वर्षको बालोन डिओरको हकदार को भनेर सोधिएको थियो । ‘मेस्सी’ एम्बाप्पेले तत्कालै जवाफ दिए ‘(च्याम्पियनस लिगमा)पराजयका बावजुद यसले स्थितिमा केही परिवर्तन गर्दैन । उनी नै नम्बर एक हुन् ।’

 

© Copyright by The News Nepal
Designed By Appharu