पाकिस्तानमा सूफी दरगाहबाहिर विस्फोटन, आठ जनाको मृत्यु

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा प्रहरीसमेत धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।

सो विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको थियो। अहिलेसम्म कुनै फनि समूहले सो घटनाको जिम्मेदरी लिएको छैन। विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्।रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो। शिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार दरगाहमा जाने गर्छन्।

सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।.

सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो। त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु गर्‍यो। अहिले सुरक्षास्थितिमा सुधार आए पनि देशमा लडाकु समूहरहरू सक्रिय छन्। सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।बीबीसी

© Copyright by The News Nepal
Designed By Appharu