बसको यात्रु भएर बसेपछि पूर्व मन्त्रीले यस्ता तस्विर राखेर लेखे सबै चकित हुने तर यर्थाथ

काठमाडौ । लामो दुरीको यात्रा गर्दा रातिको समयमा होस वा दिनमा होस ठाउँ ठाउँमा बस रोकेर नेपाली सेनाले गाडी चेक गर्ने गर्दछ । यसलाई विभिन्न अपराधिक कुराहरुसँग जोडेर हेर्ने गरिएको छ । यत्तिसम्म कि गाडी भित्र कुकुर ल्याएर यात्रुलाई उठ्न लगाएर गाडीको तलास लिने गरिएको छ । यो दृश्य देखेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पुर्व शिक्षामन्त्री धनीराम पौडेलले मुख खोल्नु भएको छ । आज एक लामो स्टाटस राख्दै केही तस्वीर राखेर उहाँले आफ्नो धारणा राख्नु भएको छ । यस्तो छ उहाँको स्टाटस जस्ताको तस्तै हेर्नुहोस्।

खचाखच यात्रीले भरिएको सार्वजनिक बसलाई खाली गरेर सैनिक जवानले कुकुर डोर्याउँदै लगेर बसभित्र यात्री बसेका सिट र उनीहरुका झोला र पोका पुन्तरा चेक जाँच गरेको यी तस्वीर देख्दा जो कोहीले निम्नानुसार अनुमान गर्छ ।

१, कतैबाट सुचना आएको होला, गाडीमा विष्फोटक पदार्थ छ, त्यो पत्ता लगाउन त्यसो गरिएको होला ।
२, कुनै अपराध गरेको अपराधी बसमा आएको भन्ने सुराकीले भनेको होला, त्यसैले त्यसो गरियो होला ।
३, भिभिआइपी कसैको सवारी त्यही बसमा गर्नुपर्ने होला, त्यसैले त्यसो गरियो होला ।

४, कुटनैतिक सम्बन्ध नभएका २ देशका २ शहर जोड्ने गरी चल्ने बस सेवा होला र नियमित प्रकृयाअन्तर्गत बोर्डरमा त्यसो गरिएको होला ।
उपरोक्त सबै अनुमानका विपरित यो दृश्य हो चितवनको भरतपुर महानगरपालिका–२३ बाट माडी नगरपालिका जाने क्रममा चितवन राष्ट्रिय निकुन्जको कसराबाट ध्रुव हुँदै वनकट्टा निस्कने ‘सुविधा प्राप्त बाटो’ मा हरेक दिन सार्वजनिक यातायातका साधन (बस) मा यात्रा गर्ने यात्रीहरुले ब्यहोर्नुपरेको पीडा, अपमान र कष्टको अनुभूति र नियति ।

यसरी पहिले सबै यात्री झारेर बस चेक गर्ने र पछि कुकुरको नजिकबाट यात्रीहरु लाइन लागेर बसमा गएर आआफ्नो ठाउँमा बस्नुपर्ने नियति भोगेका माडीबासीको पीडा सिहदरबारको घुम्ने मेचमा बसेकाहरुलाई कसरी अनुभूति हुन्छ ? आज दिउसो म माडी आउँदै थिएँ । गाडीका स्टाफ र सेनाका जवानहरुले सबैलाई बसबाट झर्न भन्दै गर्दा बसको झ्यालतिरको अंतिम सिटमा बसेको म नझरे पछि झ्याल छेउमा आएर बाहिरैबाट एक जना सेनाका जवानले सोधे, ‘तपाई झर्न नसक्ने मान्छे हो ?’

मैले ‘हो म नझर्ने मान्छे हो’ भनेँ । कुकुर लिएर बसमा २ जना जवान आए । चेक जाँच गरे । त्यसै क्रममा मैले कुकुरले चेकजाँच गर्दै गरेको तस्वीर खिच्न उनीहरुसँग अनुमति मागें । आफ्नो अनुहार नआउने गरी खिच्न अनुमति दिए । मैले त्यस्तै तस्वीर लिएँ । साँच्चै हरेक दिन यो नियति भोगेका माडीबासीको मनमा हाम्रो राज्य। हाम्रो सरकार र हामी नीतिनिर्माताहरुप्रति यस खालका कृयाकलाप र व्यवहारका कारण के कस्तो भावना पैदा हुँदो हो ? एक पटक सोच्ने हो कि अझ माडीलाई ‘मणी’ बनाउने उद्घोष गरेका जनप्रतिनिधिहरुले त गंभीरतापूर्वक विचार गर्ने हो कि ?

रंगीरङ्गी प्लेटको गाडीमा झण्डा फहराउँदै आउँदाको वा अघीपछि सुरक्षाको स्कटिङमा आउँदाको, सेतो प्लेटको गाडीमा आउँदाको वा रातो प्लेटको गाडीमा भिआईपीको पहिचानसहित यात्रा गर्दाको अनुभवको आधारमा होइन आम जनता बनेर सार्वजनिक बसमा यात्रा गर्दा माडीबासीले भोगेको पीडा र अपमानलाई केन्द्रमा राखेर माडीलाई बुझ्न र समस्या समाधान गर्न सबैको पहल आवश्यक छ ।

भरतपुर–माडी चल्ने बसका यात्रीलाई चि रा नि मा हुने व्यवहार काठमाडौं–दिल्ली चल्ने बसलाई बोर्डरमा हुने हो भने के हुन्थ्यो होला ? सोचें त ? त्यसैले त हामी माडीबासीहरु भनिरहेका छौं, ‘माडीबासीहरु स्वाभिमानी नागरिक हुन्, तस्कर नसम्झ । माडी सभ्य नागरिकहरुको नगरपालिका हो, काञ्जिहाउस नसम्झ ।

© Copyright by The News Nepal
Designed By Appharu