ओमन विरुद्धको खेलमा नेपालको ऐतिहासिक जित, विश्वकप छनौट सम्भावना बढ्यो !

काठमाडौं । ओमन विरुद्धको खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ । आईसीसी अन्डर–१९ विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई १५० रनको ठुलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिंग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओमानले ४४.१ ओभरमा ७९ रनमै सबै विकेट गुमाउन पुगेको हो । ओमानलाई सिराह र तन्नाले समान १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

४६ रनमा ८ विकेट गुमाईसकेको अवस्थामा नवौं र दशौँ नम्बरमा ब्याटिंग गरेका २ ब्याट्सम्यानले नेपालको जितको प्रतीक्षा लम्ब्याएका थिए । नेपाल, आयोजक मलेसिया सहित, युएई, सिंगापुर,कुवेत र ओमान गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर–१९ विश्वकप खेल्न छनौट हुन्छ ।

ओमानलाई पराजित गर्दै नेपालले ४ खेल खेल्दा ३ जित र १ हार ब्यहोरेको छ । अब नेपालले अन्तिम खेल बिहिबार कुवेतसंग खेल्ने भएको छ । उता युएईले पनि आफ्नो चौथो खेलमा लगातार जित दर्ता गर्ने क्रममा सिंगापुरलाई ९ विकेट पराजित गरेको छ ।

युएईले अन्तिम खेलमा बिहिबार ओमानसंग खेल्ने भएको छ । अब नेपाललाई विश्वकपमा छनौट हुने हो भने नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गर्नु पर्ने छ भने संगै युएईले पनि ओमानसंग हार ब्यहोर्नुपर्ने हुन्छ ।

© Copyright by The News Nepal
Designed By Appharu