राजधानी काठमाडौ रहेको उपत्यकामा छैन बन्द : सर्वसाधारणले यसरी गरे अवज्ञा’

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं रहेको उपत्यकामा खासै देखिएको छैन । बिहानै देखि सर्वसाधारण आफ्नो गन्तव्यमा निर्वाध हिँडिरहेका छन् । विप्लव समूहले सवारीसाधन सञ्चालन, शैक्षिक संघसस्था र उद्योग तथा कलकारखाना ठप्प पार्ने चेतावनी दिएपनि काठमाडौं उपत्यकामा भने त्यसको अवज्ञा भएको छ । उपत्यकामा सवारीसाधन विगतमा जस्तै बिहानै देखि सञ्चालन भइरहेको छ ।

शैक्षिक संघसंस्था तथा कलकारखाना खोल्ने तरखरमा छन् । उपत्यका बाहिर केही जिल्लामा भने बन्दको प्रभाव परेको छ । कास्कीको पोखरा सभागृह परिसरमा सामान्य प्रकृतिको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको कास्की प्रहरीले जनाएको छ । रुपन्देहीको कालिका चोकमा पनि शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोज गरेको छ । राति नै अज्ञात समूहले मकवानपुरको दामनमा ट्रकमा आगजनी गरेको थियो ।

त्यस्तै, मकवानपुरकै हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको मुख्य गेटमा पनि शंकास्पद बस्तुफेला परेको प्रहरीले जानकारी दिएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu