देश जनता आफैंले बनाउनुपर्छ, नेताले बनाउँदैनन्

नेपाल यस्तो मुलुक हो, जहाँ चर्चा पाउन धेरै नयाँ कुरा गर्नु पर्दैन, केवल आफ्नो क्षेत्रमा इमान्दार भएर काम गर्छु भन्नेबित्तिकै ऊ सेलिब्रेटी हुन पुग्छ । तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेल, डा. भगवान कोइराला, डा. गोविन्द केसी यस्तै व्यक्ति हुन् जो इमान्दार भएर काम गरेबापत नै जनताबाट पुरस्कृत भए । यही लाइनमा छन्, प्रविधिविज्ञ महावीर पुन । दुर्गम म्याग्दी जिल्लाको राम्चेमा जन्मिएका पुनले अमेरिकामा पढ्दा कम्प्युटर प्रविधिका विषयमा आफूले सिकेका कुरा गाउँलेहरूलाई सिकाए । यसले उनीहरूको आम्दानी बढायो । नेपाल घुम्न आएका कुनै अज्ञात पर्यटकले उनको कामलाई विश्वका नीति निर्माताको कानसम्म पुर्‍याए, फलस्वरूप पुनले नौ वर्षअघि एसियाको नोबल पुरस्कार मानिने रमन म्याग्सेसे पुरस्कार प्राप्त गरे ।

त्यसपछि मात्र नेपालीहरूमाझ चिनिएका महावीर पुन अहिले पुन: राष्ट्रिय चर्चामा छन् । आखिर उनी अमेरिकाबाट किन नेपाल फर्किए, प्रविधिविज्ञ भए पनि काठमाडौंमा नबसेर दुर्गम गाउँमा किन बसे र अहिले किन चर्चामा छन् ? यिनै विषयमा कुराकानी गर्न साप्ताहिकले उनको खोजी गर्‍यो । संयोगवश माइतीघरमा पैदल हिँडिरहेका बेला फेला परेका महावीर पुनसँग साप्ताहिकले लामै कुराकानी गर्‍यो ।

तपाईंजस्तो चर्चित व्यक्ति यसरी सजिलै फेला पर्नुहोला भनेर कल्पना पनि गरिएको थिएन ?

म जनताको छोरो हुँ, नेता होइन । गाउँघरमा काम गर्छु । सजिलै फेला नपरेको भए पो अनौठो हुन्थ्यो । त्यस्तो सोच्नु भएन नि भाइ । तैपनि अहिले जताततै तपाईंको चर्चा छ । मानिसहरू तपाईंसँग भेट्न चाहन्छन्, सहयोग गर्न चाहन्छन् । हो, फोन आइरहेको छ । कुरा गरिरहेको छु । सबैलाई भेटिरहेको छु । कसैले केही गर्छु भन्दा पनि मानिसहरूलाई खुसी लाग्ने रहेछ । अहिले हरेक मानिसलाई चिन्ता छ, यो देश बने हुन्थ्यो । विकास भए हुन्थ्यो तर सबैको प्रश्न छ, कसले गर्ने ? आखिर कसैले त गर्नैपर्छ । यसमा मैले आफ्ना तर्फबाट एउटा सानो काम सुरु गरौं भन्ने सोचेर अघि बढेको हुँ । देश विकासका लागि एउटा बीउ रोपौं भन्ने उद्देश्य हो ।

तपाईंले सुरु गर्न लाग्नुभएको कामचाहिँ के हो ? त्यो कामले कसरी विकास हुन्छ ?

मैले सुरु गर्न लागेको राष्ट्रिय आविष्कार केन्द्र हो । संसारमा युवाहरूलाई महत्वपूर्ण पुँजी मानिन्छ । उनीहरूको सोचको सदुपयोग गर्न सके मात्र दिगो विकास सम्भव छ । उनीहरूलाई परिचालन गर्न सकिएन भने देश कहिल्यै उँभो लाग्दैन । मैले भनेको छु, युवा जनशक्ति अहिले बिदेसिन बाध्य छ । तीमध्ये केही असाध्यै तीक्ष्ण बुद्धिका छन् । उनीहरूलाई नेपालमा रोकेर केही नगराइ देश बन्दैन । त्यसका लागि आविष्कार केन्द्र खोल्नुपर्छ । दोस्रो कुरा जुन देशमा विज्ञान–प्रविधिको विकास हुँदैन, त्यो देशमाथि जाँदैन । यस्ता युवालाई उनीहरूको नयाँ–नयाँ सोचलाई अघि बढाउन आविष्कार केन्द्रअन्तर्गत विज्ञान–प्रविधिको क्षेत्रमा काम गर्ने अवसर दिनुपर्छ । सोचेका सबै अनुसन्धान सफल हुन्छन् भन्ने छैन तर एक प्रतिशत मात्र सफल भयो भने पनि त्यो ठूलो उपलब्धि हुनेछ । तेस्रो, यस्ता आविष्कार हामीले नेपालमै प्रयोग गर्न सक्छौं भने विदेश पनि निर्यात गर्न सक्छौं । यो नयाँ कुरा होइन । आज विश्वका जति पनि विकसित मुलुक छन्, सबैले ठूलो बजेट यसरी नै छुट्याउने गरेका छन् । हामीले पनि त्यसै गरौं भन्न खोजेको मात्र हुँ ।

नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय छ । नास्ट नामक वैज्ञानिक पनि संस्था छ । नयाँ केन्द्र किन खोल्नुपर्‍यो ?

ठूलो साइन बोर्ड र ठूलो भवनले आविष्कार हुँदैन । एक त ती संस्थामा तलब बाहेक अरू बजेट छुट्याइँदैन । अर्को त्यस्ता संस्था राजनीतिले ग्रस्त छन् । हाम्रो देशको बिडम्बना के छ भने विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्न कोही जाँदैनन्, कर्मचारीलाई सजाय दिनुपर्‍यो भने त्यता पठाइन्छ । भागबन्डामा दलहरूलाई खुसी पार्न आ–आफ्नो मान्छे पठाइन्छ । कर्मचारीहरू सेवा गर्न होइन, जागिर पकाउन अफिस जान्छन् । नेताहरू त यति विवेक शून्य छन् कि उनीहरूलाई देश विकाससँग खासै मतलब छैन । गफ छन्, योजना छन् तर काम छैन । ती संस्थाबाट काम हुने भए मैले ५ वर्षदेखि नयाँ तरिकाले काम गरौं भनेर किन दु:ख पाउनु पथ्र्याे र ?

नेता र कर्मचारीहरूप्रति बढी नै पूर्वाग्रही हुनुभएको हो कि ?

पूर्वाग्रही भएको होइन । यथार्थ कुरा भनिरहेको छु । ५ वर्षदेखि म नेपाल बनाउने कुरा गर्दै सिंहदरबार धाइरहेको थिएँ । ५ वर्षको समय सानो होइन, उनीहरूमा काम गर्ने चासो देखेको भए आज जनतासँग यसरी हात फैल्याउँदै हिँड्ने थिइन । म कर्मचारीहरूलाई दोष दिन चाहन्नँ, किनभने उनीहरू जागिर खानै आएका हुन् । नेताहरू त देश विकास गर्न, जनताको सेवा गर्न आएका हौं भनेर दाबी गर्छन् । उनीहरूको काम गर्ने तरिकालाई नजिकबाट नियालेपछि यिनीहरूबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगेपछि म जनताको दैलोमा आएको हुँ ।

तपाईंको बाल्यकाल कसरी बित्यो, के सम्झनुहुन्छ ?

म भेडी गोठमा हुर्किएको केटो हुँ । ठूलो हुन्जेलसम्म मैले गाई–भेडा आदि चराएरै बिताएँ । मेरो बुवा केही वर्ष लाहुर जानुभएको रहेछ । उहाँले त्यहाँ बस्दा पढाइको महत्व बुझेपछि मलाई विद्यालय भर्ना गराइदिनुभयो तर स्कुल कस्तो थियो भने चिठी लेख्न तथा साधारण जोड–घटाउ मात्र सिकाउने । छुट्टीमा घर आएका लाहुरे हाम्रा शिक्षक हुन्थे र त्यही बेलामात्र हामी स्कुल जान्थ्यौं । त्यही आधारमा हामी पास हुन्थ्यौं । ७ कक्षा पुगुन्जेलसम्म मैले पुस्तक देखेको थिइनँ । पछि चितवनमा मामाले घर बनाउनुभयो । मेरो पढाइ देखेर मामाले मलाई चितवन बोलाउनुभयो । पुस्तकसमेत नदेखेको दुर्गम गाउँको ठिटो चितवनमा फस्ट भएँ ।

अमेरिकाचाहिँ कसरी पुग्नुभयो ?

राम्रो विद्यार्थी भएकाले एसएलसी पास हुनेबित्तिकै म त्यही स्कुलको शिक्षक भएँ तर मेरा मामाले भान्जा तिमीले विज्ञान पढेर इन्जिनियर बन्नुपर्छ, म दु:ख गरेर भए पनि तिमीलाई पढाउँछु भनी काठमाडौं पठाउनुभयो । अमृत साइन्समा विज्ञान लिएर पढ्दा पो थाहा भयो, विज्ञानका सबै कुरा अंग्रेजी भाषामा पढाइ हुँदो रहेछ ।

गाउँको सरकारी विद्यालयमा त्यो पनि आजभन्दा झन्डै ४५ वर्षअघि मलाई के आउनु ? इन्जिनियर हुन प्रथम श्रेणी आउनुपर्ने म दोस्रो श्रेणी मात्र भएँ । चितवन फर्किएर विज्ञानको शिक्षक भएँ । हामी शिक्षकलाई त्यहाँका सिडियोले निकै हप्कीदप्की गर्थे । पञ्चायतकाल थियो, सरकारी मान्छेसँग सबै डराउने । विद्यार्थीले परीक्षा दिइरहेका बेला ती सिडियो आए र सबैलाई हप्कदप्की गर्न थाले । विद्यार्थीका लागि पढाइ कति महत्पूर्ण हुन्छ मैले जति कसले बुझेको होला ? मैले सम्झाउने प्रयास गरेँ । उनले मलाई नै थुन्ने आदेश दिए । सात दिन थुन्दा पनि मेरो गल्ती के थियो, कहिल्यै थाहा पाइन । म रिहा भएपछि म ती सिडियोकहाँ गएँ र बाँझे । रिस उठ्नु स्वभाविक थियो । चेतनाथ बराल मेरा हेडसर थिए । उनलाई मैले केही गडबड गरौंला भन्ने लाग्यो क्यार, उनले बेतलबी बिदामा केही समय काठमाडौं जान सुझाव दिए ।

त्यसपछि ?

काठमाडौं त आएँ तर के गर्ने ? आफूलाई पैसा चाहिएको थियो । त्यतिबेला अरब जाने चलन त सुरु भएको थियो तर स्थिति हिजोआजको जस्तो थिएन । कसैले अमेरिका गएर पढ्न सुझाव दियो । टोफेल गरेपछि पढ्न जान पाइन्छ भन्ने थाहा पाएँ । नभन्दै डेढ वर्षको प्रयासपछि अमेरिका जान सफल भएँ ।

आखिर दु:ख पाएको मान्छे, उतै बसेको भए पनि हुन्थ्यो नि, किन फर्कनुभयो ?

अमेरिका जाने बेलामा मैले अमेरिकी डलर साट्न ठूलो हन्डर खानुपरेको थियो । शिक्षा मन्त्रालयले स्वीकृति नदिई अमेरिकी डलर नपाइने तर उनीहरू मेरो समस्यालाई मतलबै नगर्ने । अमेरिका पुगेपछि मैले त्यहाँको सरकार तथा कर्मचारी जनताका लागि कति चिन्तित छन् भन्ने देखेँ । म उतै बस्न सक्थेँ तर अमेरिकामा पनि काम नगरी त खान पाइँदैन । बरु मैले पाँच वर्ष अमेरिका बस्दा जुन संसार देखेंं, कम्प्युटरका बारेमा जे जानेको थिएँ, त्यो कुरा ग्रामीण नेपाली जनतालाई सिकाएर उनीहरूको जीवनमा केही सुधार गर्न सक्छु कि भनेर गाउँ आए । म हुर्कंदा गाउँ जस्तो थियो, त्यत्रो वर्ष बाहिर बसेर फर्कंदा पनि गाउँ त उस्तै रहेछ । लौ, मैले नै आफ्नो गाउँको विकास नगरी नहुने रहेछ भनेर काम सुरु गरेपछि परिवर्तन पनि आउन थाल्यो । अन्तर्राष्ट्रिय पुरस्कार पनि पाइयो । आखिर काम गर्दा हुने रहेछ, किन फर्कनु भन्ने लागेर गाउँमै बसेँ ।

गाउँमै राम्रो काम गरिरहनुभएको थियो, राष्ट्रिय आविष्कार केन्द्र बनाउने योजना चाहिँ कसरी आयो ?

देशमा प्रजातन्त्र आयो । सबैले मैले जस्तै गाउँ–घरको विकास गर्छन् । नेताले आफ्नो काम गर्छन्, शिक्षकले आफ्नो काम गर्छन् । कर्मचारी, लेखक–पत्रकार सबैले आ–आफ्नो ठाउँमा योगदान गर्दै जाँदा देश विकास हुन्छ भन्ने लागेको थियो तर झन्डै २० वर्ष बित्दा पनि देश त परिवर्तन भएन । मलाई अचम्म लाग्यो । म एक्लोले दसौं हजार मानिसको जीवन परिवर्तन गर्न सक्छु भने पुरा राष्ट्र, यत्रा नेता, कर्मचारी एवं बौद्धिक वर्गले किन देश बनाएनन् भनेर छक्क परेँ । बुझ्दै जाँदा अपवाद बाहेक कसैले कामै गरेका रहेनछन् । लौ २० वर्ष खेर गयो । मै देश निर्माणमा जुट्छु भनेर लागेको हुँ ।

६१ वर्ष पुग्नुभयो । तपाईंको हातमा न सत्ता छ न पैसा । कसरी देश विकास गर्नुहुन्छ । पैसा कसरी जुटाउनुहुन्छ ?

हिजो मैले जानेको कुरा गाउँमा प्रयोग गरेँ । अहिले तपाईं म्याग्दी र वरपरका जिल्ला जानुभयो भने धेरै परिवर्तन देख्न सक्नुहुन्छ । यही सीप र ज्ञानलाई मैले राष्ट्रव्यापी बनाउन खोजेको हुँ । यसका लागि राष्ट्रिय आविष्कार केन्द्र खोल्ने, त्यसले आविष्कार गरेका सामग्रीले देशको आवश्यकता पूरा गर्ने, पछि विदेश निर्यात गर्ने र देशलाई सम्पन्न बनाउने योजना हो । आजको वैज्ञानिक युगमा विज्ञानको प्रगति बिना देश विकास गर्छु भन्नु मुर्खता शिवाय केही होइन । नेताले भाषणमा देश विकास गर्छु भन्नु एउटा कुरा हो, यथार्थमा देश विकास गर्नु अर्को कुरा हो । मेरो कामका लागि पैसाको कमी हुँदैन । विद्यार्थी, शिक्षक, व्यवसायी सबैले सहयोग गर्न थालेका छन् । हामी पहिले १० मेघावाट जलविद्युत् उत्पादन गर्छांै । त्यसको वार्षिक आम्दानी ६० करोड हुन्छ । त्यही पैसाबाट हामी आविष्कार केन्द्र खोल्छौं । १० वर्षभित्र त्यसले एउटा खाका लिन्छ । यसैबाट देशमा नयाँ परिवर्तन आउँछ । २० वर्षअघि मेरो गाउँको स्वरूप अर्कै थियो, आज अर्कै छ । अबको २० वर्षपछि यो देश परिवर्तन गर्ने लक्ष्य छ ।

यो काममा पनि राजनीतिक हस्तक्षेप होला नि । यो पनि कतिपयका लागि राजनीति गर्ने थलो बन्ला नि ?

त्यही भएर त जनताले नै यो काम गर्नुपर्छ भनेर योजना अघि ल्याएको हुँ । नत्र नास्ट र विज्ञान–प्रविधि मन्त्रालयअन्तर्गत नै यो काम गरौं भनेर अर्थमन्त्री–प्रधानमन्त्रीहरूले नभनेका होइनन् । उनीहरूको कुरा नमानेपछि नै मैले सहयोग नपाएको हुँ । आखिर तपाईं पनि परिवार भएको मान्छे । आफ्नो जग्गा पनि दिनुभयो ।

सबै कुरा छाडेर किन देशको पछि कुदिरहनु हुन्छ ? तपाईंलाई मात्रै किन यो चासो ?

हाम्रा नेता धेरै असल भएर हामीले दु:ख पाएका हौं । अरू कुरा के भन्नु र ? यति बुझ्नुहोस्, हाम्रा धेरैजसो नेता मानसिक रोगी छन् । यो देश जनताले नबनाइ बन्दैन । हामीले नबनाइ बन्दैन ।

© Copyright by The News Nepal
Designed By Appharu