पब्जीमा के छ त्यस्ताे पागल बनाउने ? जाँच बिर्सनेदेखि जागिर छाड्नेसम्म

काठमाडौँ , मध्यबानेश्वरस्थित चिकेन स्टेसन रेस्टुरेन्टमा तीन जना युवा मोबाइलमा झुम्मिरहेका थिए। मोटो फ्रेम भएको चस्मा लगाएका एक जना युवा भन्दै थिए, ‘त्यसलाई हान्–हान् !’ खैरो ज्याकेट लगाएर कुनापट्टि बसेका अर्का युवा थप्दै थिए, ‘मार्–मार्, त्यसलाई मार् !’ उनीहरू सारा दुनियाँ बिर्सेर मोबाइलमा मग्न थिए। उनीहरू अहिलेको लोकप्रिय इन्टरनेट गेम ‘पब्जी’ खेलिरहेका थिए।उनीहरूमध्येका एक हुन्, मिडिया स्टडिजमा ब्याचलर्स गर्दै गरेका काठमाडाैँका मनीष कोइराला। साथीहरू सँग उनी भन्दै थिए, ‘केटाहरू हो, मलाई त यो गेम खेल्न थालेपछि ट्वाइलेट पनि जान नपरे हुन्थ्यो जस्तो लाग्छ।’  दोलखाबाट फार्मेसी पढ्न आएका अर्का युवा निश्चल बस्नेत मनीषलाई जिस्काउँदै भन्दै थिए, ‘ट्वाइलेट जान मन नलागो क्याथेटर लगाएर युरिन ब्यागमा पिसाब जम्मा गर् न त।’ इटहरीका युवा सुशान्त भण्डारी भने उनीहरूसँग दुखेसो पोख्दै थिए। ‘म सोझो मान्छे लाई पनि तिमीहरूको संगतले फसायो,’ उनले भने, ‘घरमा आमाबाउ छोरो पढेर बस्या होला भनेर मख्ख परेका होलान्। आफूलाई यहाँ पब्जी खेल्न पाए केही चाहिँदैन।’ उनलाई उछिन्दै मनीषले भने, ‘खेल्–खेल्, केही हुँदैन। तँ आईटी इन्जिनियर बन्ने भनेको होइन ? त्यस्तो मान्छेले यो गेम खेल्नुपर्छ क्या !’

मनीष युद्धका फिल्महरू धेरै हेर्ने भएकाले पब्जी एकदमै मन पर्ने बताउँछन्। ‘साथीहरूसँग गु्रप बनाएर खेल्दा झन् मज्जा आउँछ,’ उनले भने ‘कहिलेकाहीँ खेल्दिनँ भनेर मन बाँधेर बस्छु। फेरि खेल्न मन लागिहाल्छ। खेल्दिनँ भनेर सय चोटि अनइन्सटल गरेँ हो ला। खेल्न मन लागेपछि फेरि इन्सटल गरिहाल्छु।’ निश्चल यो गेम एकछिन खेल्न पाएन भने आफूलाई तलतल लाग्ने बताउँछन्। ‘पहिला–पहिला हजुरआमाले ‘चुरोटको तलतल लाग्यो’ भन्नुहुन्थ्यो,’ उनले भने, ‘यो तलतल भनेको के होला जस्तो लाग्थ्यो। अहिले थाहा पाउँदै छु।’ यो गेममा लाइभ कुराकानी गर्दै खेल्न मिल्ने भएकाले आफूजस्ता युवा यतातिर आकर्षित भएको उनी बताउँछन्।‘लाइभ च्याट गर्दै खेल्न मिल्ने भएकाले आफैँ त्यहाँभित्र छु जस्तो हुन्छ,’ उनले भने, ‘गोली ठोकेर आफ्नो दुश्मनहरूलाई मार्न पाउँदा कसलाई मज्जा नआउला।’ सुशान्तलाई गेम जितेपछि पाउने ‘विनर विनर चिकेन डिनर’ले गेम खेल्न झन् हौस्याउँछ। ‘त्यो चिकेन डिनर खान त मिल्दैन,’ उनले भने, ‘तर, खाएको भन्दा बढी मज्जा आउँछ। ब्रोन्ज, सिल्भर, गोल्ड, प्ल्याटिनम हुँदै डायमन्ड लेभलमा उक्लिन थालेपछि त झन् पब्जी छोड्नै मन लाग्दैन।’पब्जी अर्थात् ‘प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स’। पब्जी अहिले नेपाली युवा पुस्तामाझ ट्रेन्डमा रहेको गेम हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।

रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो। अहिले यो करोडौँ मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ। पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको यो गेमले त्यो बेला खासै सफलता हात पारेको थिएन। एन्ड्रोइड र आईओएस भर्सनमा प्रवेश गर्नेबत्तिकै यसको चर्चा ह्वात्तै चुलियो। गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ। ‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बन्न सफल भएको छ।भक्तपुर, ठिमीका रुकेश सुवेदी ‘पब्जी लभर’ हुन्।

‘साथीहरू गर्लफ्रेन्डबिना बाँच्न सक्दिनँ भन्छन्,’ उनले हाँस्दै भने, ‘आफू भने पब्जीबिना बाँच्न सक्दिनँ भन्ने स्थिति आएको छ।’ उनले यो गेम खेल्न थालेको तीन महिना भयो। ‘सबै जनाले पब्जी पब्जी भन्थे,’ उनले भने, ‘के रहेछ भनेर खेल्न थालेको… खेले पछि छाड्नै मन लागेन।’ रुकेश पहिलादेखि नै फायरिङ गेमहरू खेल्थे। ‘फ्री फायर’, ‘काउन्टर स्ट्राइक’को पनि आफू फ्यान भएको उनी बताउँछन्। ‘पब्जी खेल्न थालेपछि बाँकी सबै गेम खेल्न छाडियो,’ उनले भने, ‘अरू गेममा त के नपुगेको, के नपुगे को जस्तो लाग्छ। धेरै गेम खेल्यो भनेर घरमा गाली गर्न थालिसके। गाली गरे पनि छाड्नै मन लाग्दैन।’  काठमाडौँ, नक्सालमा बस्ने विकास थापाले पनि पब्जी खेल्न थालेको चार महिना भयो। उनी दिनमा आठ घण्टासम्म पब्जीमा बिताउँछन्। ‘गेम खेल्न थालेपछि कसैले बोलाए पनि सुन्दिनँ,’ उनले भने, ‘मोबाइलमा फोन आयो भने पनि उठाउन मन लाग्दैन।’ पब्जी खेल्न थालेपछि गर्लफ्रेन्डसँग समेत झगडा सुरु भएको उनले बताए। ‘गेम मात्रै खेलेर बस्यो, मलाई समय दिएन भन्छिन्,’ उनले भने, ‘एक जना खेल्ने एक जना नखेल्ने भयो भने साह्रै झ्याउ हुँदो रहेछ। ब्रेकअप होला कि भन्ने पो पिर लाग्न थालेको छ।’ काठ माडाैँ, साँखुका सागर दाहाल पब्जीलाई अहिलेसम्मको उत्कृष्ट गेम मान्छन्।

‘यसको ग्राफिक्स एकदमै राम्रो छ,’ उनले भने, ‘गेम खेल्दा कन्ट्रोल गर्न एकदमै सजिलो छ। दुई जीबी र्‍याम भएको मोबाइलमा पनि चल्छ। तर, राम्रो चल्नका लागि चार जीबी र्‍याम हुनुपर्छ।’बेरोजगारीले गर्दा युवा पुस्ता यतातिर ढल्किएको उनको बुझाइ छ।जा गिर–सागिर पाइँदैन,’ उनले भने, ‘वर्षौंसम्म बेरोजगार भएर बस्नुपरेको छ। गेम नखेलेर के गर्ने त ?’ खेलमा तल्लीन हुन थालेपछि मानिसहरू वास्तविक जीवनबाट टाढा हुँदै जाने मनोचिकित्सक रवि शाक्य बताउँछन् । ‘रातभरि नसुती गेम खेल्दा ‘स्लिपिङ डिस अर्डर’ हुन्छ,’ उनले भने, ‘यसले शारीरिक र मानसिक दुवै खालका समस्या निम्त्याउँछ।

यसरी गेममा लीन हुने मानिसहरू झनक्क रिसाउने, अरूको कुरा नसुन्ने र आक्रामक खालका हुन्छन्।’ काठमाडाैँ, धुमबाराहीका अजय लिम्बू प्लस टू साइन्सका विद्यार्थी हुन्। उनी पब्जीको ठूलो फ्यान पनि हुन्। उनले पब्जी खेल्न थालेको छ महिना भयो। ‘साथी हरूले त साह्रै ‘एडिक्ट नै भइसकिस्’ भन्छन्,’ उनले भने, ‘खेल्न थालेपछि मरिन्छ। मरेपछि अर्को गेममा अरूलाई पनि मार्न मन लाग्छ। जसरी पनि जित्नैपर्छ भन्ने हुन्छ। जितेपछि त झन् खेलेको खेल्यै हुन्छ।’ उनीसँग दिनमा १६ घण्टासम्म लगातार पब्जी खेले को अनुभव छ। ‘कहिलेकाहीँ त खानासमेत खान बिर्सिन्छु,’ उनले भने, ‘वाइफाई नचलेको बेला र मोबाइलमा चार्ज नभएको बेला कता जाऊँ र के गरूँ हुन्छ।

आफ्नोमा वाइफाई नभएको बेला रातभरि सिँढीमा बसेर छिमेकीको वाइफाई कनेक्ट गरेर चलाउँछु।’ पब्जी खेल्न थालेपछि सुत्ने, उठ्ने, खाने, पढ्ने केही कुराको पनि ठेगान नहुने उनी बताउँछन्। ‘एकचोटि त ‘पढे नि फेल, नपढे नि फेल’ भन्दै पब्जी खेलेर बसेँ,’ उनले भने, ‘रातभरि पब्जी खेलेर बिहानीपख भुसुक्कै निदाएछु। जाँच दिनै बिर्सिएँ। पब्जीले क्लासका टपरहरूको जाँच त ध्वस्त भएको छ, मेरो त के कुरा भयो र !’ अजयले अहिलेसम्म पब्जीमा दुई हजारभन्दा बढी गेम खेलिसके। एउटा गेम सक्न आ फूलाई आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने उनी बताउँछन्। पुरानो मोबाइलमा पब्जी नचलेपछि घरमा आफूले नयाँ मोबाइल किन्न लगाएको समेत उनी बताउँछन्।

काठमाडाैँ, कपनका युनिक लामिछानेलाई पब्जीको लत लागेपछि उनी हुँदाखाँदाको जागिर छाडेर घरमै बसेका छन्। ‘एउटा एजुकेसनल कन्सल्ट्यान्सीमा काम गर्थें,’ उनले भने, ‘पब्जी खेल्न थालेपछि खेलेरै मात्र बस्न मन लाग्छ। रातभरि गेम खेलेर टाइममा अ फिस जान नसकेपछि जागिरै छोड्दिएँ।’ पब्जीबाट पनि पैसा कमाउन सकिन्छ भन्ने उनको धारणा छ। ‘विदेशमा राम्रो खेल्ने प्लेयरहरूले कति पैसा कमाइसके,’ उनले भने, ‘लाइभ पब्जी खेलेर युट्युबमा करोडौँ सस्क्राइबर कमाउनेहरू पनि छन्। नेपालमा मात्रै केही नयाँ कुरा आउनेबित्तिकै नेगेटिभ कमेन्ट आउन थाल्छ।’

यो गेमको नकारात्मक मात्र नभएर सकारात्मक पक्ष पनि भएकोे उनी बताउँछन्। ‘यसले जीवनदेखि डिप्रेस्ड र फ्रस्टे«टेड युवालाई कुलत र सुसाइडबाट बचाएको छ,’ उनले भने, ‘टेन्सन भएको बेला यो गेम खेल्न थाल्यो भने सबै टेन्सन दूर हुन्छ।’ हाल अस्ट्रे लियामा बस्दै आएका काठमाडौँ, वसुन्धराका रोशन अधिकारी काममा छुट्टी लिएर भए पनि पब्जी खेल्छन्। ‘खेल्ने लत लागेपछि अचम्म हुँदो रहेछ,’ उनले फेसबुकमामार्फत भने, ‘म मात्रै होइन, कमाउनका लागि भनेर आफ्नो देश छोडेर आएका धेरै जना यहाँ पब्जी खेलेर बस्छन्।’झापाको मेची अञ्चल अस्पतालमा कार्यरत डा. नरेश भण्डारी पब्जीका पारखी हुन्।

काम र पढाइको तनाव कम गर्न बेलाबेला आफू पब्जी खेल्ने उनी बताउँछन्। ‘यो गेम रिलिज भएदेखि नै खेल्न थालेको हुँ,’ उनले भने, ‘सोलोभन्दा पनि साथीहरूसँग गु्रप मिलाएर खेलिन्छ। कामको व्यस्ताले भेट्न र कुरा गर्न नपाएका साथीहरू गेममा भेटि न्छन्।’डा. भण्डारी पहिला पनि क्यान्डी क्रसलगायत अन्य गेम खेल्ने बताउँछन्। तर, पब्जी भने अरू गेमभन्दा फरक र रमाइलो भएको उनको अनुभव छ। ‘फुर्सदको समयमा दिक्क लाग्दा पब्जी खेलेपछि रिफ्रेस भइन्छ,’ उनले भने, ‘यो गेममा पर्फेक्ट खालको कम्पिटिसन भएकाले कम्पिटिसनको भाव पनि जगाउँछ। एकले अर्कालाई कसरी हेल्प गर्नेदेखि अप्ठ्यारो समयमा कसरी लड्ने भनेर पनि सिकाउँछ।’ सीता एयरमा कार्यरत को–पाइलट सागर गुरागाईं पनि फुर्सद मिलेको बेला पब्जी खेल्ने बताउँछन्। ‘मोबाइल गेमहरू म पहिलादेखि नै खेल्थेँ,’ उनले भने, ‘प्रायः गेम रमाइलोका लागि खेलिन्छ। पब्जी रमाइलो मात्रै होइन, एकदमै रमाइलो छ। साथीहरूलाई भेला पारेर खेल्न झनै रमाइलो।’ यो गेम खेल्दा कुनै पनि सीप विकास नहुने उनी बताउँछन्। ‘तैपनि, खेल्न मन लागिहाल्छ,’ उनले भने, ‘पब्जीबाट केही समय ब्रेक पनि लिएँ। खेल्न नपाएको बेला एकदमै धेरे मिस हुन्छ। त्यसैले फुुर्सद मिलाएर खेलिहाल्छु।’

काठमाडौँ, बौद्धकी सुनीता थापा नबिल बैंककी कर्मचारी हुन्। उनी पब्जी खेलाडी पनि हुन्। उनले खेल्न थालेको दुई महिना मात्र भयो। ‘सबैको मोबाइलमा देखेर मलाई पनि खेल्न मन लाग्यो,’ उनले भनिन्, ‘अफिसमा खेल्ने कुरा भएन। बेलुका घरमा आएपछि खेल्छु।’ पहिला मोबाइलमा कहिल्यै गेम नखेलेको बताउने उनले खेलेको यो पहिलो गेम हो। ‘योभन्दा पहिला मैले कहिल्यै कुनै गेम खेलेको थिइनँ,’ सुनीताले भनिन्, ‘लाइभ कुराकानी गरेर खेल्ने भएकाले आफू नै त्यो गेमभित्र छिरेर खेलेको जस्तो लाग्छ। यो गेम खेल्दा अर्के दुनियाँमा पुगिन्छ।’

‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजले केही दिनअगाडि एउटा पोस्ट सेयर गर्‍यो। पोस्टमा बेहुला–बेहुली थिए। बिहेमा दुवैले मोबाइलमा पब्जी देखाउँदै खिचेको फोटो केही दिनयता भाइरल बन्यो। उनीहरू पोखराका अमित बराल र विजया लक्ष्मी खनाल हुन्। उनीहरूको पब्जी खेल्दाखेल्दै प्रेम परेर बिहे भएको थियो। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्दै अमितले भने, ‘हाम्रो पब्जी खेल्ने क्रममा नै भेट भएको थियो। लाइभ कुराकानी गर्दागर्दै कति बेला माया बस्यो, पत्तै भएन।’ उनीहरूको त्यो पोस्टलाई सामाजिक सञ्जालमा हजारौँले लाइक, सेयर र कमेन्ट गरेका छन्।

कमेन्टमा सागर खत्री नाम गरेका व्यक्तिले लेखेका छन्, ‘लभ पर्नका लागि पब्जी खेल्नुपर्ने रहेछ, म भने जमानादेखि लुडो खेलेर बसिरा’को थिएँ। आजदेखि आफू पनि यसरी नै पब्जी खेल्न थालिन्छ।’ त्यस्तै, मौसम पोखरेल नाम गरेका अर्का व्यक्तिले लेखेको छन्, ‘पहिला हाम्रो सब्जी किन्दा लभ पथ्र्यो, अहिले पब्जी खेल्दा लभ पर्न थालेछ।’ मौसमको पोस्टमा हा…हा…हा… रियाक्ट गर्दै सुभेक्षा प्याकुरेल कमेन्टमा लेख्छिन्, ‘नेपालीले चान्स पायो भने गर्छ भन्ने कुरा यो जोडीले प्रमाणित गरेर देखायो।’ बलराम सापकोटा भने पब्जी खेल्न नआएको दुखेसो पोख्दै लेख्छन् ‘न टिकटक चलाउन आउँछ, न पब्जी खेल्न आउँछ।

न डीएसएलआर छ, न केटीएम ड्युक चढेर हिँड्न सकियो। अब गएन त मेरो जुनी खेर !’ दिवस विष्टले व्यंग्य गरेका छन्, ‘पब्जीले बिहे मात्रै होइन, डिभोर्स भएको पनि धेरै देखेका छाँै।’ त्यसै गरी, खगेन्द्र निरौला नाम गरेका व्यक्तिले कमेन्ट गरेका छन्, ‘कलि फेरिएछ। वर्षौेंदेखि चिनेका मान्छे अञ्जान भए, पब्जीमा भेटिएका मान्छे आत्मीय हुन थाले। अहिलेका युवायुवतीको मति बिग्रिएको देखेर अचम्म लाग्छ।’ भक्तपुर, बालकोटकी इन्दिरा थापा पब्जीकी विरोधी हुन्। उनी पब्जीदेखि आफूलाई एलर्जी भएको बताउँछिन्। ‘एक जनालाई ‘पब्जी कि गर्लफ्रेन्ड ?’ भनेर सोधेकी थिएँ,’ उनले भनिन्, ‘पब्जी भन्ने जवाफ आयो।

पब्जीले मान्छेलाई आफ्नो सम्बन्ध नै बिर्सिने बनाइसक्यो। पब्जीलाई यति माया र मेहनत गर्ने खेलाडीहरू वास्तविक जीवनसँग पनि लड्न सिक्नुपर्यो‍।’ पब्जीले मनोरञ्जन दिएको मात्र होइन, मानिसहरूको समय बर्बाद पनि गरिरहेको उनको धारणा छ। ‘जसलाई फोन गर्‍याे ‘पब्जीमा बिजी छु, एकछिनमा फोन गर् न है’ भन्छन्,’ उनले गुनासो गरिन्, ‘पब्जीको लागि खर्चिने समय आफ्नो र आफ्नो परिवारका लागि खर्चेको भए के–के भइसक्थ्यो। साथीहरूलाई नखेल न भनेर सम्झायो भने ‘जहाँ पब्जी, त्यहाँ सब चिज भन्छन्।’ युवाहरू यसरी नै दिन प्रतिदिन पब्जीको पछाडि लाग्दा देशलाई घाटा हुने उनी बताउँछिन्।

‘आफू चाहिँ गेम खेलेर बस्ने, अनि समृद्धि चाहियो भनेर कहाँबाट आउँछ,’ उनले भनिन्, ‘अरूले बनाएको गेम खेल्नुपर्छ भन्ने चेत छ। त्यस्तै खालको प्रविधि हामी पनि विकास गर्नुपर्छ भन्ने अलिकति पनि छैन। यस्तै हो भने भोलि हातमा आएका अवसरहरू पनि गुमाउनुपर्ने स्थिती आउँछ।’ यसरी अरूले बनाइदिएको गेम खेलेर बस्ने समय कुनै उत्पादनशील काममा लगाउन उनी सल्लाह दिन्छिन्। ‘पब्जीले न आफूलाई फाइदा गर्छ, न देशलाई,’ उनले भनिन्। इन्टरनेट गेमको लत पनि धूम्रपान, मद्यपान र लागुपदार्थको जस्तै भयानक डरलाग्दो लत हो। प्रायः गेम एक पटक खेलेपछि खेलौँ–खेलौँ लाग्छ।  त्यो पब्जी मात्रै नभएर अरू गेम पनि हुन सक्छ। यदि कसैले आफूलाई नियन्त्रणमा राखेर कुनै पनि गेम खेल्छ भने त्यो समस्या भएन। त्यसलाई रोग पनि भन्न मिल्दैन। तर, कोही व्यक्ति त्यसैमा तल्लीन भएर आफूलाई नियन्त्रण गर्न सकिरहेको छैन भने त्यो रोग हो। त्यसलाई हामी ‘इन्टरनेट गेमिङ डिसअर्डर’ भन्छौँ।यो विश्वव्यापी रूपमा फैलिएको रोग हो। नेपाल मात्र नभएर यो संसारभरिको समस्या र चासोको विषय हो। चीन, कोरिया, जापानजस्ता देशमा यो समस्या विकराल छ। छिमेकी देश भारतलाई पनि यो समस्याले गाँजिसकेको छ। अन्य विकसित देशमा त स्थिति झन् भयावह छ।

गेममा दिन प्रतिदिन मानिसहरू ‘एडिक्ट’ हुँदै गइरहेका छन्। गेम भन्ने कुरा खेलुञ्जेल रमाइलो लाग्छ। खेल्छ छाडेपछि ‘के गरौँ गरौँ’ भनेर छटपटी हुन्छ। एडिक्सन हुँदा दिमागमा केही परिवर्तन आउँछन्। यस्तो अवस्थामा मानसिक र शारीरिक दुवै समस्या देखापर्छन्। टाउको दुख्यो, निद्रा लागेन, रिस मात्रै उठ्छ भनेर उपचार गर्न आउने प्रायःको मुख्य कारण मोबाइल, गेम र इन्टरनेट बनेको छ। खानपिन नै छाडेर गेम खेलेर बिरामी परेर उपचार गराउन आउने पनि छन्। विदेशमा त्यस्ता केसहरूले मानिसको मृत्युसमेत भएको सुनिन्छ। यो विषय मानसिक स्वास्थ्यको मुद्दा बनिसकेको छ।

केही देशले लतबाट छुटाउन सुधारगृह खोलेको पनि पाइन्छ। त्यहाँ बिरामीलाई मोबाइल, कम्प्युटर र इन्टरनेटबाट टाढा राखिन्छ। जहाँ इन्टरनेटको सुविधा छ, त्यहाँ यस्तो खालको समस्या अवश्य भित्रिन्छ। नेपालमा पनि इन्टरनेटको पहुँच सहज बन्दै गएकाले यस्तो समस्या भित्रिएको हो। यस्तै रूपले अगाडि बढ्दै जाने हो भने बिस्तारै यसले एक दिन भयानक अवस्था लिने देखिन्छ। त्यसैले हामीले सुरुको अवस्थामा नै ध्यान दिनुपर्छ। आनीबानी, बोलीचाली र लवाइखवाई समाजको मूल्य–मान्यताअनुसार चल्छ। त्यस्तै, मोबाइल, कम्प्युटर र इन्टरनेट पनि कहाँ चलाउने, कति चलाउने भन्ने विषयलाई सामाजिक मूल्य–मान्यता र परिधिसँग जोड्नु जरुरी छ।

यसो गरिएन भने भोलि मान्छे मान्छेसँग होइन, टेक्नोलोजीसँग बोल्न र साथी बनाउन थाल्छ। मानिस सामाजिक र व्यावहारिक हुनै छाड्छ। मैले पब्जी खेल्न थालेको चार महिना भयो। यो एकदमै रमाइलो खालको गेम हो। त्यहाँ साथीहरू भेटिन्छन्। उनीहरूसँग कुरा गर्दै खेल्न पाइन्छ। बन्दुक बोकेर आफ्ना शत्रुलाई मार्न पाइन्छ। एकदमै रमाइलो हुन्छ। त्यसैले अलिकति फुर्सद हुनेबित्तिकै दिमागमा पब्जी आइहाल्छ। सुरुमा फुर्सदको समयमा रमाइलो गर्छु भनेर खेलेको थिएँ। अहिले त जति बेला पनि खेलाैँ–खेलौँ लाग्छ। एकचोटि खेल्न थालेपछि न दिन भएको थाहा हुन्छ, न रात परेको। एउटा गेम सक्किन आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्छ।

एक पटक हारेपछि अर्को चोटि राम्रो खेलेर जित्छु जस्तो लाग्छ। जितेपछि लगातार खेलेको खेल्यै गर्न मन लाग्छ। यो गेमको लागि इन्टरनेट चाहिन्छ। इन्टरनेट भएको ठाँउमा केही समस्या हुँदैन। नभएको ठाउँमा मोबाइलको पैसा खर्च गरी–गरी डाटा लिएर भए पनि खेल्छु। पैसा त कति जान्छ कति ! यो गेम खेल्दा फिजिकल हुँदैन। फुटबल, भलिबल, बास्केटबलमा जस्तो उफ्रिनु र दौडिनुपर्दैन। लगातार १२ घण्टा खेले पनि थकाइ लाग्दैन। जति खेल्दै गयो, उति खेलौँ–खेलौँ लाग्छ। यो गेम खेल्दा अल्छी र थकाइ भन्ने कहिल्यै लागेन। समय त झन् कति चाँडो जान्छ, पत्तै हुँदैन। एकचोटि खेल्न थालेपछि मोबाइलको चार्ज नसक्की बन्दै गर्न मन लाग्दैन।

आजभोलि एक ध्यानले खेलेर बसेको बेला जीउमा कसैले छोयो भने झसंग हुन्छु। कतै केही पड्किएको आवाज आयो भने पनि पब्जीकै याद आउँछ। बाटोमा हिँड्दा झाडी देख्यो भने बन्दुक लिएर कोही आयो कि जस्तो लाग्छ। गेम हो, लिमिटमा खेल्नुपर्छ भन्ने पनि थाहा छ। तर, मनै मान्दैन। यो गेम जितेपछि युुद्ध नै जितेको जस्तो लाग्छ। जीतमा जसलाई पनि खुशी लाग्ने नै भयो। त्यसमाथि जितेपछि ‘विनर विनर चिकेन डिनर’ भन्दै भर्चुअल चिकेन डिनर दिन्छ। त्यो खान मिल्दैन। त्यही पनि आफूलाई के–के न पाएको जस्तो हुन्छ। खाएको भन्दा बढी मज्जा आउँछ। फुटबल, बास्केटबलजस्ता अरू गेम खेलेर जितेपछि पनि ट्रफी आउँछ।

त्यो ट्रफी न खान मिल्छ, न लाउन। तर, त्यसले एक प्रकारको सन्तुष्टि दिन्छ नि। हो, त्यस्तै खालको सन्तुष्टि यो गेम खेलेर जित्दै गएपछि मिल्छ।तपाईं एउटा विमानमा एक सय वा सोभन्दा बढी व्यक्तिहरूसँग हुनुहुन्छ। विमान नक्सामा निश्चित गरिएको क्षेत्रमा उड्दै जान्छ। कति बेला प्यारासुटबाट हाम्फाल्ने, कहाँ झर्ने त्यो निर्णय तपार्ईंले नै गर्नुपर्छ। भुइँमा झर्दा तपाईंसँग केही हुँदैन। लडाइँ चलिरहेको हुन्छ। तपाईंले एक्लै वा सानासाना टोली बनाएर बाँच्नका लागि संघर्ष गर्नुपर्छ। अनेक प्रकारका हतियार, कपडा र सामग्री खोजेर तिनलाई प्रयोग गर्नुपर्छ। नक्सामा रहेको ‘सेफ जोन’ भनिने वृत्तमा रहेर लड्नुपर्छ।

भवनहरूमा लुक्दै–छिप्दै दुश्मनलाई मार्दै अघि बढ्नुपर्छ। त्यसका लागि गाडी, मोटरसाइकल आदिको यात्रा पनि गर्नुपर्छ। मारिनुभयो भने तपाईंका हतियार र बन्दोबस्तीका सामान अरूले लिन पाउँछन्। करिब आधा घण्टाको यो युद्धमा जो अन्तिमसम्म बाँचिरहन सक्छ, उही विजेता बन्छ। झट्ट सुन्दा कुनै अत्याधुनिक सैन्य अभ्यास वा एक्सन मुभीको दृश्यजस्तो लागे पनि यो इन्टरनेट गेम हो। प्लेयर अन्नोन्स ब्याटलग्राउन्ड्स अर्थात् पब्जी। जसले अहिले विश्वका करोडौँ युवालाई भुलाइरहेको छ। पछिल्लो समय अत्यन्त लोकप्रिय बनेको छ, यो इन्टरनेट गेम। किशोरवयका मात्र होइन, वयस्कसमेत यो गेममा झुम्मिरहेको देख्न सकिन्छ।

लोकप्रियता बढेसँगै यसका कारण अनेक समस्या सिर्जना भएका छन्। थुप्रैको पढाइ, काम र स्वास्थ्यमा नकारात्मक असर त परेको छ नै, केहीको ज्यानसमेत गएको छ। लत लाग्ने हुनाले कतिपयले सुधारगृहमा गएर यसबाट मुक्तिका लागि उपचारसमेत गराइरहेका छन्। यो गेम पब्जी कर्पोरेसनद्वारा सञ्चालित छ। यो दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लुहोलको सब्सिडियरी हो। ब्लुहोलमा माइक्रोसफ्टको पनि लगानी छ। मार्च २०१७ मा पहिलो पटक यो गेमको विन्डोज भर्सन सुरु गरिएको थियो। फेब्रुअरी २०१८ मा मोबाइल भर्सन सुरु भएपछि त यो गेम अत्यन्त प्रसिद्ध बन्यो।

पब्जी खेल्न कम्तीमा एक सय जना प्लेयर चाहिन्छ। प्लेयरले दुई वटा मोड रोज्न पाउँछ। आर्केड मोड वा क्लासिक मोड। आर्केडमा साना युद्ध, स्नाइपर ट्रेनिङजस्ता अलग मिसन हुन्छन् भने क्लासिक मोडमा तीन किसिमका नक्सा हुन्छन्। प्लेयरले आफूले चाहेको नक्सा रोजेर खेल्न सक्छ। माथि उल्लिखित गेम क्लासिक मोडकै खेल हो। जसमा विजेताले चिकेन डिनर प्राप्त गर्छ। खेलिरहँदा प्लेयरले साथीहरूसँग कुराकानी गर्न सक्छ। अन्तिमसम्म जीवित रहन सफल खेलाडी विजेता हुन्छ। त्यसका लागि खेलमा निपुण बन्नुपर्ने हुन्छ। निपुण बन्न धेरै खेल्नुपर्ने हुन्छ। यो खेलमा विश्वका जुनसुकै कुनामा रहेका व्यक्तिले पनि भाग लिन पाउँछन्।

एकापसमा कुरा गर्दै खेल्न सक्छन्। गत अगस्टमा एक चिनियाँ किशोर चौथो तलामा रहेको काकाको अपार्टमेन्टबाट हाम्फाले। हाइमेन शहरका बासिन्दा उनको ज्यान गयो। रातको पौने १ बजे आत्महत्या गर्नुअघिसम्म उनी आइप्याडमा पब्जी खेलिरहेका थिए। किशोरकी आमाले त्यो घटना पब्जीका कारण भएको दाबी गरिन्। यो गेममा प्लेयरहरू अग्ला भवनबाट सजिलै हाम्फाल्छन्। यसबाट प्लेयरलाई कुनै चोट लाग्दैन। धेरै समय यो गेम खेलेपछि त्यसकै प्रभावले आफ्नो छोरा अग्लो घरबाट हाम्फालेको आमाको भनाइ थियो। उनीहरू दैनिक चारदेखि पाँच घण्टासम्म गेममा बिताउँछन्। इन्टरनेट गेममा नशाजस्तै बन्न जान्छ। गत वर्ष गरिएको एक अध्ययनअनुसार १८ प्रतिशत चिनियाँ किशोरकिशोरी इन्टरनेट गेमको लतमा पर्ने जोखिम छ। भारतमा पनि पब्जी सबैभन्दा लोकप्रिय भिडियो गेम बनेको छ। यसको सबैभन्दा बढी प्रभाव किशोरहरूमा छ। जयपुरमा यही थिमको क्याफे खोलिएको छ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका सदस्यसमेत यही गेम खेलिरहेका देखिन्छन्। स्मार्टफोनमा यो गेम रिलिज भएपछि यसले व्यापकता पाएको हो। गुगलको एन्ड्रोइड्स बेस्ट एप्लिकेसन एन्ड गेम्स २०१८ को विजेता पनि पब्जी नै बनेको छ। गत सेप्टेम्बरमै पब्जी मोबाइल एप डाउनलोड गर्नेको संख्या १० करोड नाघिसकेको छ।

यो गेमले अनेकौँ पुरस्कार र अवार्डसमेत हात पारेको छ। तर, गेम खेल्नेको संख्या बढ्दै जाँदा यसका असर पनि बढिरहेको छ। पब्जीको क्रेज बढ्दै जाँदा बेंगलुरुका स्कुलहरूले अभिभावकलाई एड्भाइजरी नै जारी गरेका छन्। घण्टौँसम्म यही गेममा झुण्डिरहँदा हुने असर र लतबारे ती स्कुलले अभिभावकलाई चेतावनी दिएका हुन्। केटाकेटीलाई नियन्त्रण गर्न सल्लाह दिएका छन्। यसले पढाइ, सामाजिक व्यवहार र सम्बन्ध आदिमा अवरोध पुर्या‍एको ती स्कुलको ठम्याइ छ। इन्टरनेट गेमका कारण शारीरिक र मानसिक दुवै प्रकारका समस्या निम्तिरहेका छन्। आँखा र गर्धनमा सबैभन्दा बढी समस्या देखिएको छ।

यसै पनि स्मार्टफोनको ब्लुलाइट स्वास्थ्यका लागि हानिकारक मानिन्छ। ओछ्यानमा सुत्दासमेत गेममा व्यस्त हुनाले अनिद्राको समस्या बढ्ने विज्ञहरूले चेताएका छन्। पब्जीसहित अधिकतर गेमको विषयवस्तु हिंसात्मक हुन्छ। गेममा मारकाट, गोली प्रहार सामान्य दृश्य हो। अझ भन्ने हो भने बाँच्नका लागि अर्कोलाई मार्नैपर्ने अवस्थाको सामना गर्छन् प्लेयरले। यसले कलिला मस्तिष्कमा नकारात्मक असर पुर्या‍उने र हिंसात्मक व्यवहारका लागि उक्साउन सक्ने चिन्ता मनोविश्लेषकहरूले व्यक्त गरेका छन्। एजेन्सीको सहयोगमा के. गिरी

© Copyright by The News Nepal
Designed By Appharu