यौनकाण्डले अफगानी महिला फुटबलमा सनसनी, अध्यक्षको कार्यालयभित्रै गाेप्य अाेछ्यान

अफगानिस्तानकाे सरकार यतिबेला महिला राष्ट्रिय टाेली सदस्यलार्इ पुरुष प्रशिक्षक र अफिसियलले यौन शोषण र शारीरिक दुर्व्यवहार गरेकाे विषयमा अनुसन्धान गरिरहेको छ। आरोपितहरुमा अफगानिस्तान फुटबल संघका अध्यक्ष, पदाधिकारी, प्रशिक्षक र अफिसियलहरु छन्। राष्ट्रपति अर्साफ घानीले सोमबार मात्रै एउटा बन्द कोठामा अफगानिस्तान राष्ट्रिय ओलम्पिक कमिटीका सदस्यहरुलाई डाकेर आरोपको सुक्ष्म तरिकाले अनुसन्धान गर्न निर्देशन दिएका छन्।

गत हप्ता वेलायती पत्रिका गार्जियनले अफगानी महिला खेलाडीले लगाएको यौन तथा शारीरिक हिंसाको आरोप फिफाले अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेकाे थयाे। साे खबरपछि पूरै अफगानिस्तानभरि सनसनी मच्चिएकाे छ। विश्व फुटबलको ‘गर्भनिङ बडी’ फिफाले पनि याे गम्भीर आरोपको आफ्नै तरिकाले अनुसन्धान गरिरहेकाे छ।

महिला खेलाडीहरुले यौन तथा शारीरिक हिंसाको गम्भीर आरोप लगाएपछि टोलीका मुख्य प्रायोजक डेनिस कम्पनी हुम्मुइल पनि हच्केको छ। उसले आफ्नो प्रायोजन फिर्ता लिने निर्णय गरिसकेकाे छ। ‘हाम्रा सामु प्रस्तुत कागजातहरु दुर्व्यवहार र अफगानिस्तान फुटबल फेडेरेशन (एएफएफ)को शक्तिको दुरुपयोगको संकेत मात्रै हैन। यो हाम्रो मान्यताको विपरित छ,’ कम्पनीका प्रमुख कार्यकारी अलान भेद नेल्शनले भन्छन्, ‘हामीसँग अब प्रायोजन रद्द गर्नुबाहेक अन्य कुनै विकल्प छैन।’

कार्यालभित्रै अाेछ्यान

आरोप मुख्य रुपमा एएफएफका अध्यक्ष केरामुद्दिन केराममा केन्द्रित छ। उनले नै अफगानिस्तानको पुरुष र महिला फुटबलको नेतृत्व गर्छन्। उनीसँगै संघका अन्य सदस्यहरु पनि आरोपमा मुछिएका छन्। अफगानी महिला खेलाडी तथा व्यवस्थापकको पनि भूमिका निर्वाह गरिरहेकी खालिदा पोपलले समेत अध्यक्ष केरामुद्दिनमाथि यौनहिंसाको आरोप लगाएकी छिन्।

‘केरामुद्दिनले उनको अफिसमा भएको बेडरुममा बोलाई महिला खेलाडीहरुमाथि हिंस्रक रूपमा यौन शाेषण गर्ने गरेका छन्। त्यो बेडरुम भित्रबाट मात्रै खोल्न मिल्छ’, उनी भन्छिन्, ‘त्यो पनि उनको फिंगर प्रिन्टबाट मात्रै खुल्छ। महिलाहरुलाई उनले त्यहाँ बन्धक बनाउँने गर्छन्। अध्यक्ष र केही प्रशिक्षकहरुले महिला खेलाडीमाथि निरन्तर बलात्कार अनि यौनहिंसा गर्छन्’, उनी भन्छिन्।
महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय पोपललाई लगातार विभिन्न संगठनबाट ज्यान मार्ने धम्की आएपछि सन् २०१२ मा उनी अफगानिस्तानबाट विस्थापित हुदैँ डेनमार्कमा शरण लिएर बसेकी छिन्। तर पनि उनी राष्ट्रिय टोलीमा उत्तिकै सक्रिय हुँदै टोलीको लागि विदेशमा हुने अभ्यास शत्रहरु सहभागी हुँदै अाएकी छिन्।

यसै वर्षको फेब्रुअरीमा पनि उनले जोर्डनमा अफगानी महिला टोलीको क्याम्प आयोजना गरेकी थिइन्। त्यसमा सहभागिताका लागि आएको महिला टोलीसँग संघले पुरुष प्रशिक्षक तथा अफिसियलहरु पठाएको थियो। त्यसमध्येका एक अफिसियलले मदिरा सेवन गरी केही महिला खेलाडीहरुलाई जबर्जस्ती याैन सम्पर्क प्रयास गरेका थिए।

‘जब खेलाडीहरुबाट उजुरी गर्ने धम्की आयो तब प्रञ्जिशिर प्रदेशका गभर्नरसँग राम्रो राजनीतिक साँठगाँठ भएका संघ अध्यक्ष केरामले एक खेलाडीलाई स्नुकर खेल्ने डण्डाले पिटे। लेस्बियनको आरोप लगाउँदै ती महिलासँगै आठ जना अन्य खेलाडीलाई टोलीबाट समेत निकालिदिएका थिए,’ पोपलले थपिन्।मुख्य प्रायोजकको सम्झौता रद्द गर्ने तयारीमा रहेको हुम्मुइलले पनि संघका अध्यक्ष केरामलाई संकेत गर्दै भनेको छ, ‘सम्पूर्ण आरोपमा अध्यक्ष स्वयं मुछिए पनि उनले राष्ट्रिय टोलीबाट लगाएको आरोपबारे कुनै प्रतिक्रिया दिन सकेका छैनन्।’

‘जोर्डनमा भएको यौनहिंसा बाहिर ल्याए अभिभावकहरुले पछि खेल्न नदिने त्रासले खेलाडीहरुले केही नबोलेको थाहा पाएँ,’ पोपलले भनिन्, ‘त्यसपछि मैले अध्यक्ष केरामलाई सबैकुरा बताउँन फोन गरेकी थिएँ। उनले आरोपित प्रशिक्षकहरुलाई कारवाही गर्ने बाचा समेत गरेका थिए। तर कारवाही त कहाँ हो कहाँ उनीहरु उल्टै संघको जागिरमा पदोन्नती भए।’

अफगानिस्तान फुटबल फेडेरेशनले भने एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण आरोपहरु आधारहीन भएको र त्यस किसिमका व्यवहार भए शून्य सहनशीलता अपनाउने उल्लेख गरेको छ। संघले अहिलेसम्म कसैबाट पनि त्यस किसिमको आरोप सुन्नमा नआएको दाबी गरेकाे छ। अध्यक्ष केरामले भने पटक-पटक प्रयास गर्दा पनि केही बोल्न चाहेनन्।

अध्यक्षकाे फिंगर प्रिन्टबाट मात्र खाेल्न सकिन्छ बेडरूम

उनका मुख्य कर्मचारी मासुद हुसिमीले भने केराम नै संघको अध्यक्ष भएकाले आधिकारिक रुपमा कार्यालयको बेडरुम उनकै फिंगरपिन्टले मात्रै खुल्ने बताए।
अफगानी महिला टोलीका मुख्य अमेरिकी प्रशिक्षक केली लिन्ड्सेले भने पोपल र खेलाडीहरुले लगाएको आरोपमा आफूले सहयोग गर्ने बताएकी छिन्। ट्विट गर्दै उनले आफ्ना खेलाडीहरुले मानिसिक, शारीरिक र यौनजन्य दुर्व्यवहार भोग्दै फुटबल खेलिरहेको उल्लेख गरेकी छिन्।

राष्ट्रपति घानीले भने हालसम्म संघविरुद्ध कुनै किसिमको कारवाही अघि बढाएका छैनन्। यदि यस किसिमका दुर्व्यवहार हुने गरेका छन् भने त्यसले अभिभावकहरुलाई आफ्ना नानीहरु खेल्न नपठाउने बातावरण बनाउँने भन्दै उनले चाँडो भन्दा चाँडो याे समस्याको निष्कर्षमा पुग्ने उनले प्रतिबद्धता जनाएका छन्।

अफगान सरकारका महान्यायधिवक्ता मोहम्मद फारी हामिदीले अनुसन्धानको नतिजा एक हप्ताभित्रै सार्वजनिक गर्ने बाचा गरेका छन्। कानुनले नै खेलाडीहरुको प्रतिष्ठा र अधिकारलाई संरक्षण गरेको बताउँदै उनले सबैले सम्मानपूर्वक जिउन पाउने बताए।

फिफाले लामो समयदेखि महिला फुटबल खेलाडीमाथि हुँदै अाएकाे याैन हिंसाकाे अनुसन्धान गरिरहेकाे छ। ‘मानव अधिकार उल्लंघन र कुनै पनि प्रकारका लैगिंक विभेदमा फिफाको शून्य सहनसिलताको नीति छ,’ फिफाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यस विषयमा कुनै पनि आरोपहरुको फिफाले गम्भीर रुपमा अनुसन्धान गर्छ।’ (न्यूयोर्क टाइम्सबाट अनुवाद)

© Copyright by The News Nepal
Designed By Appharu