जस्ले साँढेलाई नियन्त्रणमा लिन्छ उसलाई २० हजार इनामको घोषणा

रौतहट — सडकमा हिँड्ने यात्रुमाथि लगातार आक्रमणको प्रयास गरेपछि चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आले आइतबार साँढेलाई नियन्त्रणमा लिन सहयोग माग्दै हिँडे ।  जसले साँढेलाई नियन्त्रणमा लिन्छ उसलाई २० हजार इनाम दिने घोषणा नै गरे । केही दिनदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा देखा परेको साँढेले स्थानीय र बटुवामाथि आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि वडा अध्यक्षआलेमाथि दबाव परेको थियो । धेरै प्रयास गर्दा नियन्त्रणमा लिन नसकेपछि उनले इनामको घोषणा गरेका हुन् ।

मानिसलाई आक्रमण गरी घाइते बनाउने साँढे नियन्त्रणको प्रयासमा वडा अध्यक्ष आले लागिपरेका हुन् । साढेलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिन वन कार्यालयलाई अनुरोध गरेको बताए । ‘साँढेलाई बेहोस गर्ने सुई लगाउन मिल्दैन भनेर वनले जवाफ दियो,’ उनले भने, ‘जसरी भए पनि साँढे नियन्त्रणमा लिनु परेको छ । यसले ठूलो क्षति पुर्‍याउन सक्छ । त्यसैले इनामको घोषणा गरेको हुँ।’

दिनहुँ साँढे आतंक बढेपछि नगरपालिकाले नियन्त्रणमा लिनुपर्ने चौतर्फी दबाब बढेको छ । सडकमा छाडा छाडिने चौपाया नियन्त्रणमा लिने दायित्व नगरपालिकाको भन्दै स्थानीयले विरोध जनाएको हो । आलेले नियन्त्रणको प्रयासभइरहेको सुनाए ।

दुई दिनअघि चन्द्रपुर ४ का वीरेन्द्र साहको ईरिक्सामा आक्रमण गर्दा एक महिला र बालक घाइते भएका थिए । उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार गरिएको इलाका प्रहरीका डीएसपी युवराज खड्काले बताए । साढेको आक्रमणमा परी चन्द्रनिगाहपुरका बिसान्तप्रसाद सुवेदीको हात भाँचिएको थियो । साढेले आक्रमण गर्दा रिक्सा सडकमै पल्टिएर बालक सहित २ यात्रु सामान्य घाइते भए ।

स्थानीयको सहयोगमा रिक्सालाई सडकबाट उठाएर घाइतेको उद्धार गरिएको थियो । ‘हेर्दा साँढे निकै भद्र स्वभावको देखिन्छ । तर उसले कतिखेर आक्रमण गर्छ भन्ने थाहा हुँदैन,’ ईरिक्सा चालक केदार तिमल्सिनाले भने, ‘पटकपटक आक्रमणको घटना भइसक्यो । यसले ठूलो दुर्घटना निम्त्याउँछ ।’ साढे कहाँबाट आयो भन्ने कसैलाई थाहा छैन । गाउँबाट डामेर पठाइएको साढेलाई हतपत मानिसले धपाउने गर्दैनन् । यो सडकमै बस्छ । चर्न समेत कतै जादैन । सडकमा फालिएका बस्तु खान्छ । मुख्य चोकको दायाँबायाँ यसले आफ्नो थलो बनाएको छ । कहिले काहीँ छेउमै मानिस पुग्यो भने पनि केही गर्दैन । कहिले भने परैबाट आक्रमण गर्छ ।

केही समयअघि स्थानीयले लखेटेर नियन्त्रणको प्रयास गरेका थिए । तर सकेनन् । त्यस क्रममा साढे झनै आक्रामक बनेपछि नियन्त्रणको प्रयास छाडेका थिए । यसलाई जसरी पनि नियन्त्रणमा लिनुपर्ने वडा अध्यक्ष आलेले जनाए । सम्बन्धित वडा अध्यक्ष भएकाले साढे पक्रन आले माथि स्थानीयको चर्को दबाव छ ।

पहिला गाउँघरमा साढेलाई पूजा गरिन्थ्यो । गाईको बथानमा साँढे देखियो भने शुभ मानिन्थ्यो । यो निकै खतरनाक हुन्छ । गाईको बाछोलाई त्रिशूलले शरीरमा डामेर चिन्ह बनाउँदै छाड्ने चलन छ । यसरी डामेर छाडेपछि साढे बन्छ । यसलाई बाँधेर पाल्न पाइँदैन । जहाँ जतासुकै घुम्न डुल्न पाउँछ । गाईको बाछालाई सुमार (खसी पार्ने) नगरेपछि साढे हुने स्थानीय केदार थापाले बताए । यस्तो साढेबाट गाई गर्भ बन्छ ।

हरायो साँढे
डेढ दशकअघिसम्म गाउँगाउँमासाँढे देख्न पाइन्थ्यो । गाईबस्तसुको प्रत्येकहुलमा एउटा साढे हुन्थ्यो । मेलामा साँढे जुधाइन्थ्यो । यसको महत्त्व छुट्टै थियो । अहिले साँढे लोप हुँदै गएको छ । पछिल्लो समय कुनै पनि गाउँमा साँढे भेटिँदैन । अहिले एकाधबाहेक देख्न पाइँदैन । जंगलमा कहिलेकाहीँदेखिने गरिन्छ । पहिला जताततै देखिन्थ्यो । यो किन कसरी लोप हुँदै गयो भन्ने थाहा नभएको स्थानीय समाजसेवी सपुतबहादुर कार्की बताउँछन् । ‘गाउँघरमा बस्तु पाल्ने संस्कार पनि हटदै गएको छ,’ उनले भने, ‘यसै कारणले पनि साँढे लोप हुँदै गएको हो ।’

पहिला प्रत्येक गाउँमा एक/एक वटा बाछालाई शरीरमा डामेर छाडिने चलन थियो । पछि त्यही साढे बन्थ्यो । यो निकै बलियो रिष्टपुष्ट हुन्छ । एउटा साढेले आफ्नो इलाकामा अर्कोलाई आउन दिँदैनथ्यो ।

© Copyright by The News Nepal
Designed By Appharu